प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी प्युठान नगरपालिका –५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती ४३ वर्षिय बच्ची थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने बाँकी ६ जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको प्रहरीले बताएको छ ।

जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए ।