जुम्ला– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताउनुभएको छ । जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रको पक्षमा खडा भएको बताउनुभएको हो ।
आगामी निर्वाचन संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसको विपक्षमा रहेकाबीच हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ ।’ अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा सङ्ग्राम हुने बताउनुभयो । उहाँले प्रत्येक निर्वाचन कुनै न कुनै राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै यस पटक अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने बारेमा केन्द्रित भएको दाबी गर्नुभयो ।
नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री कांग्रेस नै भएको र अहिले पिन आफूहरू एकै ठाउँमा भएकाले निर्वाचन जित्ने उहाँले बताउनुभयो । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उहाँको भनाइ छ ।
उहाँले तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरंकुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौ ं। यो स्वाभाविक र प्राकृतिक छ ।’