फाइल तस्वीर

काठमाडौं – प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न सबै सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचार–प्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा÷भेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको हो ।

साथै काउन्सिल नेपालले सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान विज्ञापनहरू प्रकाशन÷प्रसारण गर्दा निर्वाचन आचारसंहिता बमोजिम सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्नेमा समेत ध्यानाकर्षण गरेको छ । काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

प्रेस काउन्सिल नेपाल स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनको लागि कटिवद्ध रही आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न र भ्रमपूर्ण तवरले प्रचार–प्रसार नगर्न प्रेस काउन्सिल नेपाल सरोकारवाला पक्षहरूसंग अनुरोध गर्दछ, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान सम्बन्धी विज्ञापनहरू प्रकाशनरप्रसारण भइरहेको उल्लेख गर्दै तोकिएको आकार, समय र पटकलाई ध्यान दिन भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (घ) मा ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने’ र २५(ङ) मा दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने’ व्यवस्था रहेको छ ।