काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । आज आइतबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना वामपन्थी राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

बहिष्कार कार्यक्रमका लागि कात्तिक २६ देखि ३० गतेसम्म देशव्यापी रूपमा विरोध प्रदर्शन र कोणसभा समेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए । उनले दलालहरूले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरूले चुनाव बहिष्कार गर्ने नीति लिनु परेको बताए । नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसद्वादको अन्त्य गर्नका लागि आफूहरूले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले नेपाली क्रान्तिलाई सफल बनाउन पनि सो चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

वैज्ञानिक समाजवादी पार्टी, नेपालले चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको बताएको छ । पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरूबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरूले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रूपमा अघि बढाएको उल्लेख गरे । तीनवटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौँमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनगढीमा कात्तिक ३० गते विरोध प्रदर्शन र कोणसभा आयोजना गरेका छन् । सो कार्यक्रमा नेकपाका नेता प्रकाण्डले स्थानीय स्तरमा पनि आवश्यक्ताको आधारमा तय गरिएको पनि बताएका छन् ।