फाइल तस्वीर


नवलपरासी – निर्वाचनको मिति सङ्घारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले मतदाता आफुप्रति तान्न कुनै हथकण्डा बाँकी राखेका छैनन् । चुनाव प्रचारप्रसारको क्रममा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुभएका नेपालका धनाढ्य व्यापारी विनोद चौधरीले सुस्ताको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुस्तावासीले वर्षाैदेखि भोग्दै आएको बाढी र डुबानको समस्या समाधान गर्न पूर्वसांसद् चौधरीले पहल अगाडि बढाएको बताउनु भएको छ । नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता, प्रतापपुरलगायत क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधान गर्न स्थानीय मतदाताले माग गरेसँग उहाँले बाढी र डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएको हो । तर चौधरीले कस्तो खालको पहल सुरु गर्नु भएको भन्ने खुलेको छैन ।

सो क्षेत्रमा बाढीका कारण करिब १० हजार परिवार पीडित छन् । चौधरीले डुबानको समस्या समाधान गर्न दीर्घकालीन सिचाई योजना अगाडि बढाउनुपर्ने एजेण्डा अघि सार्दै बाढी र डुवानको समस्या समाधान गर्ने भनेपछि स्थानीय मतदाता चौधरीप्रति आशावादी देखिएका छन् । सुस्ता र प्रतापपुरको डुवान समस्याका सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा नगरी समस्या समाधान हुने अवस्था छैन ।

सोही निर्वाचन क्षेत्रबाट निरन्तर सांसद् र पटक पटक मन्त्री भैसक्नु भएका हृदयेश त्रिपाठीले सुस्ताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म त्यसको सुनुवाइ कहिँ कतैबाट सम्बोधन हुन नसकेको स्थानीयहरुको भनाइ छ । नेताहरु चुनावको बेला भोट माग्न आउने, चुनाव जितेपछि यहाँको समस्या समाधानमा कुनै चासो नदिएको उनीहरुको भनाइ पटक पटक सार्वजनिक हुँदै आएको छ ।

वर्तमान सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीले सुस्ता, प्रतापपुरलगायत क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधान गर्न दीर्घकालीन सिंचाइ योजनालाई अगाडि बढाउने भनेपछि सुस्तावासीमा चौधरीप्रति आशाको त्यान्द्रो पलाएको मतदाताको भनाइ छ ।