फाइल तस्वीर

महेन्द्रनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । काङ्ग्रेस प्रवक्ता डा.महतले कञ्चनपुर पुगेर पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाकै नेतृत्वमा आगामी सरकार बन्ने दावी गर्नुभएको हो ।

महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै काङ्ग्रेस प्रवक्ता महतले ‘प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा कुनै छलफल भएको छैन, तर स्वभाविक रुपमा काङ्ग्रेस ठूलो दल भएकोले सरकारको नेतृत्व गर्छ’ भन्दै ‘पार्टीभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने शेरबहादुर देउवा नै हो, अहिले तोड्ने होइन, जोड्ने नेतृत्व आवश्यक छ’– भन्नुभयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन दलले स्पष्ट बहुमत प्राप्त गर्ने भन्दै नेता महतले स्पष्ट म्याण्डेटसहित सरकार गठन भएर अवरुद्ध भएको विकास र समृद्धिको यात्रा अघि बढ्ने बताउनुभयो ।

आसन्न निर्वाचनमा कुनै पनि एक दलले बहुमत प्राप्ता गर्न सक्ने अवस्था रहेकोले लोकतान्त्रिक गणतन्त्रलाई जोगाइ राख्न गठबन्धन गर्नुपरेको उहाँको भनाइ थियो । ‘अहिले लक्ष्य र उद्देश्य सबै मिलेको छ । परिणाम राम्रो ल्याउने छौं’ काङ्ग्रेस प्रवक्ता महतको भनाइ थियो ।

काङ्ग्रेसको निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका महतले विगतमा संसद्मा थोरै सङ्ख्या भएर पनि अन्य दलले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन आग्रह गरेको हुँदा सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको भन्दै आसन्न निर्वाचनमा नेपाली काङ्ग्रेस ठूलो दल बन्ने दावी समेत गर्नुभयो ।