फाइल तस्वीर


काठमाडौं – काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा थप प्रमाण सङ्कलन गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीपले बलात्कारको आरोप लगाएकी किशोरीको उमेर बारे थप प्रमाण सङ्कलन गर्न आदेश दिएको हो ।

सन्दीपले गत मङ्गलबार अदालतमा बयान दिनेक्रममा किशोरीको जन्म मिति २०६१ असार १८ गते भएका तीन वटा प्रमाण पेश गरेपछि अदालतले पीडित किशोरीको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको थियो । गत सन्दीपले किशोरी नाबालिग नरहेको भन्दै आफ्नो तर्फबाट प्रमाण पेश गरेका थिए ।

उनले बयान दिनेक्रममा किशोरीको जन्मदर्ता, बसाईसराईको कागजात र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेश गरेका थिए । अदालतबाट ती कागजातको वैधानिकता बारे थप प्रमाण सङ्कलन गर्न आदेश गरेको हो । आदेशमा सरकारी वकिल कार्यालयलाई प्रहरीमार्फत ती कागजात सम्बन्धित कार्यालयबाट मगाउन भनिएको छ । किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रतिसहित ल्याउन अदालतले आदेश दिएको छ । बलात्कार भएको भनिएकी किशोरीको नागरिकतामा भने २०६१ असार १८ गते उल्लेख छ ।

यस्तै अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक समेतलाई बकपत्रका लागि जिल्ला सरकारी वकिल कार्यालय मार्फत झिकाएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई मङ्सिर ७ गते उपस्थित गराउन समेत आदेश गरेको छ ।

बलात्कारका आरोपी सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश गरेसँग उनलाई सुन्धारास्थित केन्द्रीय कारागार राखिएको छ।