फाइल तस्वीर

रोल्पा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीतन्त्रबाट देशलाई बचाउन वर्तमान सत्ता गठबन्धन आवश्यक भएको बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनद्वारा रोल्पामा आयोजित चुनावी कार्यक्रममा बोल्दै माओवादी नेता पुनले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

चुवानी कार्यक्रममा बोल्दै नेता पुनले ओलीतन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको दावी गर्दै २०७४ सालको निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्ड र अहङ्कारले देशमा अस्थिरता निम्तिएको र पाँच वर्षेकार्यकाल खेर गएको जिकिर गर्नुभयो ।

करिब दुई तिहाइको वामपन्थीको सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीको मति विग्रेको हुँदा उहाँमा निरङ्कुशता र व्यक्तिवादको भूत सवार भएको भन्दै कार्यक्रममा बोल्दै नेता पुनले ‘प्रदेश र स्थानीय तहलाई अधिकार दिन नचाहेर ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको आरोप लगाउनु भयो ।

ओलीको निरङ्कुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि लोकतान्त्रिक गठबन्धन निर्माण भएको चर्चा गर्दै नेता पुनले जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै उनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको बताउनु भयो ।

एमाले अध्यक्ष ओलीमा निरङ्कुश चरित्र भएकोले पटक पटक संसद विघटन गर्ने, संसद् चल्न नदिने, पार्टीलाई विखण्डन गर्ने कार्य भएको भन्दै देशलाई सङ्कटबाट जोगाउन वर्तमान गठबन्धन बनेको नेता पुनको भनाइ थियो ।