काठमाडौं – इजिप्टको सार्मऐल शेख सहरमा आज आइतबारदेखि जलवायु सम्मेलन हुँदैछ । जलवायु सम्बन्धी २७ औं संस्करणको यो सम्मेलनमा विशेषगरी यसअघिका निर्णयहरुको कार्यान्वयन र भविष्यको भावी रणनीतिका लागि मार्गप्रशस्त गर्ने अभिप्रायले सम्मेलन हुँदैछ ।

कार्तिक २० गतेदेखि मङ्सिर २ गतेसम्म सञ्चालन हुने यो सम्मेलन विश्वव्यापी रुपमा बढ्दो जलवायु परिवर्तनको प्रभावका बारेमा केन्द्रीत हुनेछ । इजिप्ट सरकारको आयोजनामा हुन लागेको यो सम्मेलनमा पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव र चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने एकमात्र माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ । तेह्र दिनसम्म चल्ले उक्त सम्मेलनको मुख्य एजेण्डा भनेको जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय रहेका छन् ।

इजिप्टका राष्ट्रपति अब्दल फतेह इस–सिसिले सम्मेलनको अध्यक्षता गर्दै हरित् गृह ग्यासहरूको उत्सर्जनलाई द्रुत रूपमा घटाउने, जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई अनुकूलन गर्न सहयोगको खाँचोमा परेकाहरूलाई सहयोग गर्न आवश्यक कदम चाल्ने र सुनिश्चित गर्ने उपयुक्त सूत्र खोज्नेसम्बन्धमा तत्काल कार्य गर्नुपर्नेमा जोड दिइने जनाइएको छ ।

आजदेखि सुरुहुने जलवायु सम्मेलनमा मुख्यतया जलवायु परिवर्तन, मरुभूमिकरण र पानीको अभावले बढ्दै गएको खाद्य सुरक्षा सङ्कटलगायतका विषयहरुमा चर्चा हुनेछ । यस सम्मेलनको मुख्य उद्देश्यजलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा देखिएको अन्तर्राष्ट्रिय सङ्कटको बीचमा यस विश्वव्यापी प्रयासमा आफ्नो योगदान पुर्याउन विकासशील देशहरूका लागि अपरिहार्य कार्यान्वयनको पक्षमा आवश्यक साधनहरूको उपलब्धता पहिल्याउनु हुनेछ ।

यसअघिका सम्मेलनहरूमा जस्तै हरित् गृह ग्यासहरू कसरी कटौती गर्ने र जलवायु परिवर्तनको प्रभावसँग सामना गर्न आवश्यक खर्च कसरी जुटाउने भन्नेमा शक्ति राष्ट्रहरूको जोड रहने विश्लेषण गरिएको छ । अत्यधिक कार्बन उत्सर्जन हुनेगरी उद्योग सञ्चालन गर्ने मुलुकहरूले प्रत्यक्ष प्रभावित अन्य मुलुकलाई भुक्तानी गर्ने विषयमा साना तथा कमजोर मुलुकहरूले समस्याको उजागर गरी त्यसमा बहस गर्नेछन् ।

जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लनुको साथै मौसमी चक्रमा देखिएको फेरबदल, तापक्रम बृद्धि, आँधी, बाढी, पहिरो, सुख्खा खडेरी, वनडढेलोलगायतका समस्या विश्वव्यापी रुपमा बढ्दो छ । विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि उकासिँदै गएको घोषणा भइरहँदा अबका दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउन पनि सम्मेलन सहायक हुने विश्वास लिइएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

जलवायु परिवर्तनको विश्वव्यापी प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने नै अहिले साना ठूला सबै राष्ट्रको चिन्ताको विषय बनेको छ । जलवायु परिवर्तनको प्रभावलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा सम्मेलनमा छलफल र बहस हुनेछ । गत वर्ष कोप–२६ सम्मेलनमा स्कटल्यान्डले हानि र नोक्सानी सहयोगार्थ १० लाख अमेरिकी डलरभन्दा बढी रकम दिने र यसै वर्ष डेनमार्कले एक करोड ३० लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ ।

जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्ष कोप–२६ सम्म आइपुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न कोप–२७ सम्मेलन पथप्रदर्शक हुने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनको चपेटामा परेको नेपालले भने जलवायु अनुकूलन र यसको प्रत्यक्ष प्रभाव भोग्नु परिरहेको वास्तविकता बताउन र त्यसवापत पाउनु पर्ने क्षतिपूर्ति लिन पनि सकेको देखिंदैन । नेपालले हरेक सम्मेलनमा कुरा उठाएता पनि पाउनुपर्ने क्षतिपूर्तिको सवाललाई महत्वपूर्ण रूपमा उठाउने गरेता पनि अहिलेसम्म ठोस रुपमा सहायता प्राप्त गर्न नसकेको विज्ञहरुको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयले इजिप्ट सम्मेलनमा प्रस्तुत गर्ने अवधारणापत्रमा हिम गलनले निम्त्याएको समस्या, त्यसमा गर्नुपर्ने अनुकूलनका विषयसँगै नेपालमा बढ्दो खाद्य असुरक्षाका सवाल प्रस्तुत गर्ने भएको छ । त्यस्तै एक वर्षमा जलवायु परिवर्तनका क्षेत्रमा भएको विश्वव्यापी प्रगतिको समीक्षा, हानि तथा नोक्सानी र जलवायु वित्त सङ्कलनको अवस्थाका विषयहरुका बारेमा पनि कुरा उठाउने भनिएको छ । नेपालले पर्वतीय मुलुकहरूको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तनले टापु राष्ट्रमा पारेको असरका विषयमा समेत गहन टिप्पणी मन्त्रालयले जनाएको छ ।