काठमाडौं – निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज शुक्रबार पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो ।

उनीविरुद्धको बलात्कार मुद्दामा हिजो बिहीबार थुनछेक बहस भएको थियो । लामिछानेका तर्फबाट हिजो पाँच जना वकिलले बहस गरेका थिए । आज निवेदक पक्षले जवाफी बहसका लागि समय पाएपछि आदेश आउनेछ । अहिले लामिछानेलाई थुनाबाहिर रहेर मुद्दा लड्न दिने कि, थुनामै राख्ने भन्ने विषयमा बहस केन्द्रित भएको छ ।

आज शुक्रबार पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलले बहस गर्नेछन् ।