फाइल तस्वीर
काठमाडौं – नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी आमसभा सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ । ओली हिजो बिहीबार नै धनगढी पुगिसक्नुभएको छ । एमालेले ४ मङ्सिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।
ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलङ्गामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुङ्गिनेछ ।