काठमाडौं – बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारसम्बन्धी मुद्दाको बहस मङ्गलबारदेखि काठमाडौं जिल्ला अदालतमा जारी छ । सोमबार अभियोग पत्र दायर भएपछि पहिलो दिन मङ्गलबार सन्दीपको बयान लिएपछि सो सम्बन्धी मुद्दाको बहस प्रारम्भ भएको हो ।

उनीविरुद्धको थुनछेकको बहस हिजो बुधबार पनि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको थियो । तर दुवै पक्षबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिन गै आज बिहीबार पनि सोको बहस काठमाडौं जिल्ला अदालतमा भैरहेको छ ।

हिजोको बहसमा पीडितको पक्षबाट बहस गरेका कानुन व्यवसायीले सन्दीपले ती बालिकामाथि बलात्कार गरेको पुष्टि भएको जिकिर गरेका थिए भने सन्दीपको तर्फबाट अधिवक्ता मुरारीप्रसाद सापकोटाले बहस सुरु गर्दै पीडत पक्षले लगाएको आरोपको खण्डन गरेका थिए ।

त्यसअघि सरकारी वकिलले सन्दीपले बयानका क्रममा स्वीकार गरेका कुराले पनि बलात्कार पुष्टि हुने बताएका थिए । तर सन्दीपतर्फबाट बहस गरेका सापकोटाले ‘सन्दीपले कतिपय तथ्य मात्रै स्वीकार गरेका हुन् । अभियोग स्वीकार गरेका होइनन् । अभियोग र तथ्य फरक हो । सन्दीपले नगरकोट गएको, होटलमा बसेको स्वीकार गरेका हुन् । बलात्कार गरेको स्वीकार गरेका होइनन् ।’

यस्तै उनले सन्दीपमाथि लगाइएको अभियोगमा कतिपय तथ्य नै गलत रहेको बताएका छन् । जाहेरवालाले सुरुमा सन्दीपले फोन गरेको भनेकी थिइन् । तर अधिवक्ता सापकोटाले त्यो गलत भएको र किशोरी आफैंले सन्दीपलाई पहिले फोन गरेको दावी गरेको बताएका थिए ।

‘जाहेरीमा भएको यो कुरा पनि झुटो हो, केटीले आफैं सन्दीपलाई फोन गरेको देखिन्छ । अर्को कुरा क्रिकेटर देव खनालले सन्दीपको भिडियो खिचेर निज केटीलाई पठाइदिएका रहेछन् । यो भिडियो पठाउँदा सन्दीपको सहमति लिइएको छैन । यसरी सहमतिविना भिडिओ पठाउन मिल्दैन । भिडिओमा युजरआईडी पनि पठाइएको रहेछ । फ्रेन्ड रिक्वेस्ट पनि केटीले नै पठाएको हो’ बहसका क्रममा अधिवक्ता सापकोटाले भनेका थिए ।

उमेर पुगे पनि नपुगे पनि जबरजस्तीकरणीको वारदात स्थापित हुनुपर्ने, तर त्यसका लागि प्रत्यक्ष प्रमाणहरु केही पनि नभएको र बहसको क्रममा सापकोटाले अभियोगकर्ता केटीको उमेरको विषयमा पनि प्रश्न उठाएका थिए ।

त्यसअघि सन्दीपले नै अदालत समक्ष मङ्गलबारको बयानका क्रममा किशोरीको उमेर १९ वर्ष पूरा भएको प्रमाण पेश गरेका थिए । अभियोगमा नागरिकता अनुसार १८ वर्ष मात्रै उमेर रहेको दाबी गरिएको थियो । तर अर्को जन्मदर्ता बनाएर किशोरीको उमेर घटाइएको र सोही अनुसार नागरिकता बनाएको भन्दै किशोरीको बास्तविक उमेर भने १९ वर्ष रहेको दावी सन्दीप पक्षको रहेकोछ ।

सन्दीपले किशोरीको सुरुको जन्मदर्ता, बसाईसराईको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पनि अदालतमा पेश गरेका छन् । अदालतमा पेश गरिएको कागजातमा किशोरीको जन्ममिति २०६१ असार १८ गते उल्लेख छ । सन्दीप पक्षले सुरुको जन्म मितिलाई वास्तविक मान्नु पर्ने जिकिर गरेका छन् ।

किशोरीको तर्फबाट बहस गरेका कानुन व्यवसायीले जहिले पनि महिला मात्रै पीडित हुने र इजतमा दाग पनि उनैलाई मात्रै लाग्ने तर्क गरेका थिए । उनीहरुले जहिले पनि महिलाको चरित्रमा मात्रै प्रश्न उठ्ने गरेको भन्दै बहसका क्रममा आपत्ति जनाएका थिए ।

आज बिहीबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमनकुमार श्रेष्ठ, सविता भण्डारी, कृष्ण सापकोटा, लव मैनाली लगायतले बहस गर्दैछन् । सन्दीप पक्षको बहस सकिए आजै थुनछेक आदेश हुनसक्ने अदालत स्रोतको भनाइ छ ।