काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा अग्रगामी शक्तिलाई जिताउन आग्रह गर्नुभएको छ । राजधानीमा आज बिहीबार भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचय र चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचन प्रतिगामी र अग्रगामी शक्तिबीचको लडाइ भएको भन्दै यो निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो । अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलता नै आर्थिक विकासको द्योतक हो भन्ने कुरामा जोड दिंदै राजनीतिक सफलता विना आर्थिक विकास सम्भव नहुने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने दावी समेत गर्नुभयो । नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको भन्दै आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
गोरखा जिल्लाको इतिहास, राष्ट्रिय एकता, राजनीतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर गर्नुपर्नेमा जोड दिंदै गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले ‘मेरो गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रुपमा लिएको छु । चुनौती गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको सन्दर्भमा वा राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भुमिका छ । जुन दूरगारी रणनैतिक भुमिका छ । त्यो भुमिका खेल्ने जनताको भावनालाई मैले उचित सम्मान गर्न सक्छु की सक्दिन भन्ने चुनौती जस्तो मलाई महशुस भइराख्छ’ – भन्नुभयो
उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष एवम् गोरखा क्षेत्र नं. २ का उम्मेदवार प्रचण्डले ‘गोरखाली जनताको अपेक्षामा म खरो उत्रिनसक्छु की सक्दिन भन्ने चुनौती ठानेको छु । गोरखाको ऐतिहासिक परम्परालाई अघि बढाउने र राज्यको एकतावद्ध गराउने अवसरको रुपमा र नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने एउटा ठूलो अवसरको रुपमा पनि मैले गोरखामा मेरो उम्मेदवारीलाई लिएको छु । यसलाई सफलतापूर्वक कार्यसम्पादन गर्न हामी सबै मिलेरमात्र सम्भव छ । यो निर्वाचन सामान्य निर्वाचनको रुपमा नलिदिनुहोला ।’
‘नेपाल एकपटक फेरि निरंकुशता, अराजकता, प्रतिगमनतिर जाने की ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाईं हो । नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनुछ । अब यो राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य शर्त छ । यदी हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभुति दिलाउन सकेनौँ, आर्थिक क्रान्तिको खाका कोर्न सकेनौं भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगो पनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका शुरु गर्नुपर्छ’– अध्यक्ष प्रचण्डको भनाइ थियो ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अग्रगामी शक्तिलाई जिताउन आगामी चुनावमा अभुतपूर्व रुपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।