फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदै हुनुहुन्छ । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराउनुभएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान लाग्नुभएको हो ।

हिजो बुधबार कैलालीको धनगढी पुग्नुभएका देउवाले आज दिउँसो साढे १२ बजे डडेल्धुराको अमरगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । देउवा चार दिन डडेल्धुरामा रहने कार्यक्रम छ । उहाँको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नुहुनेछ ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँ कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम छ । देउवालाई चुनावी प्रचारमा हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगले अनुमति दिइसकेको छ । डडेल्धुरामा देउवासँग काङ्ग्रेस विपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार भिड्दै हुनुहुन्छ ।