फाइल तस्वीर
मोरङ– नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताउनु भएको छ । मोरङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर ६ बाट गठबन्धनको उम्मेदवार बन्नु भएका नेता कोइरालाले विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित चुनावी कोणसभामा बोल्दै यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
काङ्ग्रेस नेता कोइरालाले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्नका लागि आसन्न निर्वाचनमा गठबन्धनले जित्नु पर्ने आवश्यकता रहेको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । नेता कोइरालाले ‘शिक्षाविना समाज र राष्ट्र सभ्य हुन नसक्ने भन्दै नेपाली काङ्ग्रेसले शिक्षालाई उच्च प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो । मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार कोइरालाले काङ्ग्रेसको नेतृत्वमा सरकार बनेमा मुलुकमा विकास हुने र बेथिति हट्ने दावी समेत गर्नुभयो ।
चुनावी कोणसभामा बोल्दै गठबन्धनका उम्मेदवार कोइरालाले ‘गरिबलाई शोकमा १० हजार रुपैयाँसम्म किरीया खर्च दिनुका साथै सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
राष्ट्रियसभाका सदस्य एवम् नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै क्षेत्र नं ६ (ख) का उम्मेदवार केदार कार्कीले विराटनगरलाई संरचनासहितको राजधानी बनाउने भएकाले गठबन्धनले जित्नुपर्ने बताउनुभयो । उहाँले विराटनगरको चक्रपथ व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मतदाता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकतालाई निर्देशन दिनुभयो ।