काठमाडौं – नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसन र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको हो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभयो । ‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु’ प्रचण्डले भन्नुभयो । भेटका अवसरमा प्रचण्डले आफूहरू मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताउनुभयो । राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो । राजदूतले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गर्नुभयो ।