फाइल तस्वीर


काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्नुपर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने निर्णय गरेको हो ।

गत जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त विमानस्थललाई पूर्णरुपमा प्रयोगमा ल्याउन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

महानिर्देशक अधिकारीकाअनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछ । प्राधिकरणले यही कात्तिक १३ गतेदेखि लागू गरेको हिउँदे उडान तालिकाअनुसार चार्टर्ड उडानसँगै काठमाडौँबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् । विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराउन सुरुभैसकेको छ ।


प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदे उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न समेत निर्देशन दिएको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।