फाइल तस्वीर
काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने भएको छ । बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्धको मुद्दा तिहार बिदा सकिएसँगै आज दर्ता हुने भएको हो । सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि न्यौपानेका अनुसार आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ ।

यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ । तर तिहार र छठको बिदा सकिएर आजदेखि कार्यालय खुल्ने भएकाले आजै अभियोग पत्र दर्ताको तयारी गरेको बताइएको छ ।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएपछि उनलाई हिरासतमा राख्ने समय थपिएको थियो। पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

तिहार बिदा सकिएसँगै सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ । कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ । त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ ।