फाइल तस्वीर


काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दैै विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछन् । यसैक्रममा आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी लक्ष्य र कार्यदिशालाई समेटेर घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्र पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आज सोमबार दिउँसो तीन बजे पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिंदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीको आगामी पाँच वर्षे योजना र कार्यदिशा समेटेर चुनावी घोषणापत्र सार्वजनिक गर्नुहुने मुख्यसचिव ढकालले बताउनुभयो ।

माओवादी केन्द्रले पार्टीका विभाग, जनवर्गीय सङ्गठनहरु र विभिन्न ११ क्षेत्रका विषयगत विज्ञहरुसँग छलफल गरी चुनावी घोषणापत्र तयार गरेको हो । आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको माओवादी केन्द्रले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा, संविधानको पूर्ण कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनाहरु घोषणापत्रमा समावेश गरिएको बताइएको छ ।

यसैगरी अर्को कम्युनिस्ट घटक एकीकृत समाजवादीले पनि आजैका दिन पार्टीको पाँच वर्षे योजनासहितको चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । बानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टीका उपमहासचिव प्रकाश ज्वाला, डा. विजय पौडेल र डा.गङ्गालाल तुलाधरको टोलिले तयार गरेको चुनावी घोषणापत्र दिउँसो तीन बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गर्नुहुने भएको छ ।

उक्तपार्टीले चुनावी घोषणापत्रमा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, र्आिर्थक, सामाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ भन्ने नारा अघि सारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि आजैका दित चुनावी घोषणापत्र सार्वजनिक गर्नेभएको छ । उक्त पार्टीले अहिले ११ बजे पार्टीको धारणा सहितको चुनावी घोषणापत्र सार्वजनिक गर्न लागिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराउनु भएको छ । बानेश्वरको थापागाउँ स्थित बानेश्वर बैङ्केटमा आयोजित चुनावी घोषणापत्र कार्यक्रममा उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गर्नुहुने बताइएको छ ।
राप्रपाले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको वकालत गर्दै आएको छ ।