बुटवल – रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका गृहमन्त्रीसमेत रहनुभएका काङ्ग्रेस नेता बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । आज आइतबार गृहमन्त्री खाँणले ६७ बुँदे संकल्पपत्र सार्वजनिक गर्नुभएको हो ।

उहाँले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरू, निर्वाचन क्षेत्रभन्दा बाहिरका क्षेत्रलाई समेत समेटेर संकल्पपत्र बनाउनुभएको छ । भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।

पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने भनिएको छ । त्यस्तै सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडक पूर्वाधारमा जोड, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुदलगायतका विषय संकल्पपत्रमा छन् ।

संकल्पपत्रमा सिद्धार्थनगरभन्दा बाहिर रहेका विषयलाई पनि सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक सेजमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निणर्य गर्ने, पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, मर्चवारदेखि मुस्ताङ सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, भारतले निर्माण गर्ने एकीकृत भन्सार प्रणाली तत्काल निर्माण प्रारम्भ गर्नेलगायतका विषय समेटिका छन् ।
संकल्पपत्र सार्वजनिक कार्यक्रममा गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।