फाइल तस्वीर

काठमाडौं – नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताउनुभएको हो ।

“चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन”, उहाँले भन्नुभयो ।

नेता सिंहले काङ्ग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न काङ्ग्रेसलाई विजय गराउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली काङ्ग्रेसले इतिहासदेखि गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको पनि बताउनुभयो ।

नेता सिंहले आफ्नो ध्यान संसद्मा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत भएको स्पष्ट पार्नुभयो । उहाँले काठमाडौं क्षेत्र नं १ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धेरै काम गरेको स्मरण गर्नुभयो ।