काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सियोलमा भएको भागदौडमा परी कम्तीमा १ सय ४९ जनाको ज्यान गएको घटनाप्रति शोक व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
उहाँले घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । हेलोवीन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा शनिबार राति भागदौड मच्चिएको थियो । नाइट लाइफका लागि लोकप्रिय मानिएको इतेवन क्षेत्रमा हजारौँ मानिस भेला भएका थिए । अत्यधिक भिडका कारण स्वास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिरिने क्रममा दुर्घटना भएको बताइएको छ ।
कोरियन अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा अधिकांश किशोर छन् । कोभिड महामारी रोकथामका लागि लगाइएको प्रतिबन्ध हटाइएपछि सियोलमा पहिलो हेलोवीन कार्यक्रम थियो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले घटनाको छानबिन गर्न र घाइतेहरूलाई सहयोग गर्न कार्यदल गठन गर्न आदेश दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनाक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत विश्वका धेरै नेताहरूले पनि घटनाप्रति शोक व्यक्त गरेका छन् ।