काठमाडौं – ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो क्षेत्रबाट चुनाव लड्न लागेकी कार्कीको आयोगले शनिबार उम्मेदवारी अयोग्य हुने ठहर गर्दै खारेज गरिदिएपछी उनी अदालत जाने भएकी हुन् ।
कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले उनको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ । त्यसको भोलिपल्ट कार्कीले आयोगको उक्त निर्णयविरुद्ध अदालत जाने बताएकी हुन् । उनले उम्मेदवारी खारेजबारे आफूलाई आधिकारिक पत्र प्राप्त नभएको पनि बताएकी छन् ।
समय सकिएपछिको उजुरीलाई आधार मानेर अहिले सोही विषयमा निर्णय गर्नुमा आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका रहेको उनले बताएकी छन् । डा. कार्की लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो ।