काठमाडौं– निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक १५ गतेभित्र पठाइसक्नुपर्ने छ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने र उनीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिने जनाएको छ ।