साङ्केतिक तस्वीर

कावासोती – पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको र तीमध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएको जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार घाइतेमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलालीकै धनगढी उपमहानगरपालिका–१३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो । रासस