काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको हो ।
भेटमा गृहमन्त्री खाँणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । उहाँले नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गर्नुभयो ।
साथै, उहाँले नेपालमा आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताउनुभयो । सो अवसरमा राजदूत थम्प्सनले आसन्न निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने उल्लेख गर्नुभयो ।