काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दाबी गर्नुभएको छ । आज शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दाबी गर्नुभएको हो ।

आगामी निर्वाचन केवल आवधिक निर्वाचन मात्रै नभएको भन्दै उहाँले तीन दशक देखिको सीमित राजनीतिक दलहरूको चक्रव्युहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताउनुभयो । निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुने गरी मतदान गर्न उहाँले आह्वान गर्नुभएको छ ।

लिङ्देनले यस अघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेकाले राम्रा मान्छे पराजित भएकाले अब भने त्यस्तो अवस्था नआउने धारणा राख्नुभयो । त्यस्तै लिङ्देनले अन्य दलमा रहेकाहरूले पनि आफ्नो पार्टी सुधार्न राप्रपामा मतदान गर्नुपर्ने जिकिर गर्नुभयो ।