विराटनगर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हँसिया हथौडामा भोट हाल्न लाज नमान्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र केही समस्या भएको स्वीकार गरे पनि अहिले शङ्का उपशङ्का गर्ने ठाउँ नभएको बताउनुभयो ।
‘अस्तिपल्ट केही समस्या थियो, अहिलेको बेलामा शङ्का उपशङ्का गर्ने ठाउँ छैन, गठबन्धन बचाउनु छ, स्थायी गराउनु छ’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मैले त हँसिया हथौडामा हालिसक्या छु भोट, गिरिजाबाबुले पनि हालिसक्नु भएको हो उसै दिन, त्यसकारण हँसिया हथौडामा भोट हाल्न किन लाज मान्ने ?’ उहाँले अहिले गठबन्धनभित्र कुनैपनि समस्या नभएको दाबी गर्नुभयो ।
‘हामी सब मिलेका छौं, पार्टी मिलेको छ, गठबन्धन मिलेको छ’ भने ‘‘जहाँ हँसिया हथौडा छ त्यहाँ हँसिया हथौडामा भोट हाल्ने, जहाँ कलम छ कमलमा हाल्ने, जहाँ रुख छ रुखमा भोट हाल्ने ।’ शनिबार विराटनगरमा आयोजित गठबन्धन दलको प्रदेश १ स्तरीय भेलालाई सम्बोधनका क्रममा देउवाले एमाले अध्यक्ष ओलीले बढ्दा बोलेको आरोप लगाउनुभयो ।
‘प्रदेश १ मा ओलीजीले बढ्दा बोल्दै हुनुहुन्छ, यो ठाउँमा पनि गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुहोला’ ओलीलाई चेतावनी दिंदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ओलीजीले पनि गठबन्धन नै गर्नु भएको छ त, उहाँले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?’