काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई पुनः निरङ्कुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेको बताउनुभएको छ । बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले पनि संविधान मिच्ने र मुलुकलाई पुनः निरङ्कुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेकाले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको बताउनुभएको हो ।
अध्यक्ष ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभएको र राष्ट्रको रक्षाको ब्याटल भएको बताउनुभयो । देशमा अहिले प्रष्ट रूपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएको धारणा राख्नुभयो । प्रचण्डले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताउनुभयो ।
त्यसैगरी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि कुनै हालतमा सह्य नहुने बताउनुभयो । भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
त्यस्तै काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राख्नुभयो । उहाँले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभातर्फ मानुषी यमी भट्टराई उम्मेदवार हुनुहुन्छ ।