काठमाडौं – काठमाडौं महानगरपालिकाले आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको मासिकवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको महानगरको सामाजिक विभागले जनाएको हो ।

महानगरले जारी गरेको सूचनामा उल्लेख छ,’ महानगरपालिकामा बसोबास गर्ने बाबु–आमाविहिन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गर्ने वडा कार्यालयमा आवश्यक कागजातसहित ३० दिन भित्रमा सम्पर्क गर्नुपर्ने छ ।‘

महानगरबाट सेवासुविधा प्राप्त गर्न यी कागजात आवश्यक पर्छ ?

–जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ( नागरिकता प्राप्त गरेको भएमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि)

–आमा र बाबु दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि वा बाबु वा आमा दुवै बेपत्ता भएको वा दुबैको संरक्षण र रेखदेखबाट बञ्चितीकरणमा परेको प्रमाणित कागजात हुनुपर्नेछ ।

– विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र (५ वर्ष पुगेका विद्यार्थीको हकमा)

–संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।