काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ । आज बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले प्राकृतिक श्रोत, साधनको संरक्षण, संवर्द्धन वातावरण अनुरूप दिगो रूपमा अघि बढाउन जरुरी रहेको पनि उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरूसँगको सहकार्य र समन्वय विस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको औँल्याउनुभयो ।

प्रधानमन्त्री देउवाले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक सम्पदा र वन्यजन्तुहरूको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन गरी आर्थिक अवस्थालाई सहयोग पु¥याउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले प्रकृति एवं जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र मुलुकको समृद्धिमा सहयोग पु¥याउने गरी काम गर्न आवश्यक रहेको पनि जिकिर गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै वन्यजन्तुको संरक्षणको विषयलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले वन्यजन्तुको संख्या बढ्दै गइरहेकाले मानिसको क्षति नहुने गरी काम गर्न पनि सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभयो ।