काठमाडौं – निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ । आयोगले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने भनेर प्रलोभन बाँडेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

साथै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहनुभएका अध्यक्ष नेपालले रौतहटमा आयोजित कार्यक्रममा ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौँमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ ।

“…श्री माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ । साथै, यस विषयसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको विद्युत् प्रति (सीडी) समेत यसैसाथ संलग्न गरी पठाइएको छ,” आयोगले प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ ।
सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनि रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।