काठमाडौं – देशकै जेठो वीर अस्पतालमा चिकित्सकले दाताबाट मृगौला झिकिसकेपछि तनाव सिर्जना भएको छ । मङ्गलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको भए पनि प्रत्यारोपणका लागि अयोग्य भएकाले अस्पतालमा तनाव उत्पन्न भएको हो ।

ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तयारी गरेकी थिइन् । मिर्गौला प्रत्यारोपणको तयारी सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले गरेका थिए । प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको भएपनि प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो नदेखिएकोले प्रत्यारोपणको कार्य गर्न नसकिएको अस्पतालका अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।

अस्पतालले घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा.प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । वीरको युरोलोजी विभागका प्रमुख डा. रविन बस्नेतले मिर्गौला प्रत्यारोपणका क्रममा कहिलेकाही यस्ता समस्या हुनु प्राविधिक कुरा भएको बताएका छन् ।