फाइल तस्वीर
काठमाडौं – वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विभागले सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको भन्दै यस्तो आग्रह गरेको हो ।

तिहारका लागि प्लास्टिकका फूल तथा मालाको आयात उच्च हुने भएकोले त्यसलाई रोक्ने उद्देश्यले विभागले यस्तो आग्रह गरेको हो ।

“सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी मिति २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको विषय सर्वविदितै छ,” विभागले आज जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ, “नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।”

सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजार रुपैयाँदेखि २० हजारसम्म जरिबाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट एक लाख रुपैयाँसम्म जरिबाना हुने चेतावनी दिएको छ ।