सर्लाही – सर्लाहीमा सहकारीका एक कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लामबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनी आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाले गोली प्रहार गरेर भागेका थिए । अज्ञात समूह भारतीय नम्बरको निलो रङ्गको मोटरसाइकलमा चढेर फरार भएका छन्। गोली हानेर भागेको भन्ने खबर पाएपछि प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ । प्रहरीले सबै इकाइलाई अलर्ट गरी चेकजाँच गरिरहेको छ ।

घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ रिफर गरिएको छ । उनीमाथि तीन राउन्ड गोली प्रहार भएको छ । उनको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा, दाहिने तिघ्रामा गोली लागेको छ । उनको अवस्था मध्यम छ । उनलाई जहाजबाट काठमाडौँ पठाइएको जनाइएको छ ।