फाइल तस्वीर

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन दुई शक्तिबीचको लडाईं भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले मङ्सिर ४ गते हुने निर्वाचन अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ भएको बताउनु भएको हो ।

आगामी निर्वाचन सामान्य भोट हाल्नेमात्र नभै प्राप्त उपलब्धिको रक्षा र प्राप्त उपलब्धी उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनामा प्रकाशित ‘मिलन स्मारिका’ विमोचनका क्रममा अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनाव आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको दावी समेत गर्नुभयो ।

‘मंसिर ४ गते दुईवटा विचार, दुईवटा प्रवृत्ति, दुईवटा धाराको बीचमा ब्याटल हुँदैछ’ भन्दै अध्यक्ष प्रचण्डले ‘यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुईवटा विचार, दुईवटा प्रवृत्ति, दुईवटा धारा जे भने पनि दुईवटा शक्ति आमनेसामने छन्’ भन्नुभयो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘त्यसैले यसलाई हामीले सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट छैन । हाम्रो लागि यो निर्वाचन मात्र नभै जनक्रान्ति र जनयुद्धका उपलब्धी रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो छ’– भन्नुभयो ।

माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता सावित गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ‘हामीसँग हिजोको जस्तो फौज त छैन । हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता सावित गर्ने चरणमा छौं, समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं’– भन्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘गतसाल झन्डै झन्डै प्रतिक्रान्तिको अवस्था आएको, तर आफूहरूले त्यसलाई रोकेको’ दावी गर्नुभयो । उहाँले ‘हामी बलियो हुँदा परिवर्तन पनि रक्षा हुन्छ, समाजवादको आधार निर्माण गर्ने वातावरण पनि बन्छ। हामी कमजोर हुँदाचाहिँ सबैथोक उल्टिने खतरा छ’ भन्नुहुँदै ‘हाम्रा लागि यो निर्वाचन भोट हाल्ने सामान्य निर्वाचन मात्र होइन । हामी सबैका निम्ति ती महान् सहिदहरू, बेपत्ता, घाइते योद्धाहरू र अपाङ्गहरू र यो क्रान्तिमा सहभागी सम्पूर्ण जनताका निम्ति जीवन–मरणकै सङ्घर्षको रूपमा रहेको’ उल्लेख गर्नुभयो ।

अहिले पनि प्रतिगमनको खतरा नटरेको उल्लेख गर्दै मङ्सिर ४ गते प्रतिगनकारी र अग्रगमनकारीको शक्ति परीक्षण हुने चर्चा गर्दै ‘तर अहिले पनि प्रतिगमनको खतरा टरेको छैन। मंसिर ४ को चुनावमा शक्ति परीक्षण हुनेवाला छ । प्रतिगमनको शक्ति कति छ, अग्रगमनको शक्ति कति छ, प्रगतिशीलको शक्ति कति छ, प्रतिगामीको चाहिँ शक्ति कति छ भनेर फैसला हुनेवाला छ । त्यसकारण पनि यो (निर्वाचन) हाम्रा लागि धेरै महत्वको छ’ – भन्नुभयो ।