फाइल तस्वीर


काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नम्बर–२ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको मुद्दाको रिट माथिको सुनुवाइ आज बुधबार हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिटमाथि छलफल हुने भएको हो ।

आज बुधबारका लागि सुनुवाइ तोकिएको उक्त मुद्दाको पेशी ३० नम्बरमा रहेकोले उक्त मुद्दाको सुनुवाइ हुनसक्ने सम्भावना भने न्यून देखिन्छ । गठबन्धनका उम्मेदवार राजु गुरुङमाथि बैंकिङ कसुरमा दोषी ठहर भै कालोसूचीमा परेको भन्दै सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए । निर्वाचन अधिकृतको कार्यालयको विरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

गत बिहीबार न्यायाधीश विश्वभर श्रेष्ठको इजलासले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको इजलासले अन्तरिम आदेशलाई निरन्तरता हुने गरी आदेश गरेमा गुरुङ उम्मेदवार हुने पाउने छन् ।