काठमाडौं – सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाउँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो ।

सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । यस्तै २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ ।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुईपटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।