चितवन – चितवन १ मा बागी उम्मेदवारी दिनुभएका काङ्ग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उहाँले आज सोमबार एक विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगको भेटपछि बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको हो । उहाँले आफूलाई पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिने बताएको समेत उल्लेख गर्नुभएको छ । उहाँले काङ्ग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने समेत बताउनुभएको छ ।

उहाँले प्रेस विज्ञप्तिमा भन्नुभएको छ, ‘जीवनभर काङ्ग्रेसमा गरेको त्याग, सङ्घर्ष र मेहनेतका कारण स्वतन्त्र उम्मेदवार बनिरहन सकिनँ । पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले चितवन क्षेत्र नं. १ रहेको मेरा स्वतन्त्र उम्मेदवारी आजैका मितिदेखि निष्क्रिय पारेको छु ।’