फाइल तस्वीर
काठमाडौं – मानवशास्त्री ओम गुरुङको निधन भएको छ । नेपाल जनजाती महासङ्घका पूर्वमहासचिव गुरुङको सोमबार दिउँसो ६८ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

गुरुङले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए । उनी त्रिविमा मानवशास्त्र र समाजशास्त्र विभागको प्रमुख पनि भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए ।