काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गर्नुभएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताउनुभएको हो ।

‘अहिले संसारभरि नै आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, ‘नयाँ विज्ञानको प्रयोग अपराधीले पनि प्रयोग गरिरएको अवस्था छ। सुरक्षाकर्मीहरुले अपराध नियन्त्रणमा प्रयोग गर्दै आउनुभएको छ । चनाखो रहनुस् ।’ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै गृहमन्त्री खाँणले नेपालमा नै अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र निर्माण गरेर अघि बढिएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, नेपाल प्रहरी जसले बलिदान गर्नुभएको छ उहाँहरुको परिवारको क्षमता अभिवृद्धि गर्नका लागि सरकार तत्पर छ । नेपाल प्रहरीका लागि पनौतीको प्रहरीको तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नेपालमा नै उपलब्ध गराउनेछ ।’

उहाँले नेपाल प्रहरीलाई सवल र सुदृढ गर्नपर्ने बताउँदै आ–आफ्नो कार्यकालमा भएका कामहरुले देशले सो विषय सम्झिरहने दावी गर्नुभयो । उहाँले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने क्रममा नेपाल सरकार र गृह मन्त्रालय सधैं अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । गृहमन्त्री खाँणले भन्नुभयो–‘गतवर्ष प्रधानमन्त्री देउवाकै निर्देशनमा प्रहरीमा साना तहका अधिकृतको विकासका लागि पदहरुको विकास गरेको छ । यसले प्रहरीको वृद्धि विकासमा महत्वपूर्ण काम गरेको छ ।’