काठमाडौं – सत्ता गठबन्धनको बैठक आज सोमबार बस्ने भएको छ । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक आज दिउँसोका लागि बोलाइएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाधनमा आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ३ बजे बैठक बोलाएको छ । गठबन्धन दलका एक नेताले बताएअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि गठबन्धन दलका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले पार्टीको निर्णय विपरित जाने बागी उम्मेदवारलाई कस्तो कारवाही गर्ने भन्ने विषयमा छलफल छ ।

आज बस्ने बैठक पछि गठबन्धनका शीर्ष नेताले गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै आम मतदाताहरुसँग अपिल गर्ने बताइएको छ ।