काठमाडौं – चर्चित लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आज आइतबार बिहान निधन भएको हो ।

लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । ३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन लगिएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।

लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्वीरसहित राखेका छन् । ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’ गायक परियार स्वयंले फेसबुकमार्फत आफ्नो बुबाको मृत्यु भएको जानकारी दिएका छन् । उनले फेसबुकमा बुबासँगको तस्वीर राख्दै लेखेका छन्, ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दशैँको टीका लगाउँदा भन्नुभएको थियो, अर्को सालको दशैंमा म नहुन पनि सक्छु भनेर ! सायद हजुरलाई थाहा थियो होला यी कुरा, तर मलाई भन्नु भएन किन ? जे होस् मेरो बुवाको जेठो छोरा म, मेरो बुवाको अधुरा सपनाहरू सकेसम्म पूरा गर्नेछु । मबाट सदाको लागि बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चीर शान्तिको कामना बुबा हजुर ! मरण सत्य छ तर मसँग झझल्को र आशुबाहेक केही छैन बुवा ।’

मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी छन् । राजु मंगलसिंहका जेठो छोरा हुन् ।