काठमाडौं – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आज आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको हो । १०३ वर्षीय जोशी २४ दिनदेखि सोही अस्पतालमा उपचाररत थिए ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि सङ्क्रमण रहेको थियो । डेङ्गु सङ्क्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।

उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएपनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो । असोज ७ गते जोशीलाई किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उनीनिकट रहेका पत्रकार तथा लेखक गिरीश गिरीले पनि जोशीको निधन भएको बताए । उनका अनुसार जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।