फाइल तस्वीर

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन् ।

दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३ र काठमाडौं निर्वाचन क्षेत्र नं.४ मा परेको छ। यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन्।

मोरङ निर्वाचन क्षेत्र नं.३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं.३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाडौं क्षेत्र नं. ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ।

तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रहेको छ। यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ।

चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५ र काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा परेको छ। यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन्।

आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं.४ मा उम्मेदवारी दिने २९ जनाममा एक जना पनि महिला रहेका छैनन्। उम्मेदवारी दिनेहरुमा काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाडौं निर्वाचन क्षेत्र नंं७ मा २४ जना पुरुष र ५ जना महिला छन्।

पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं.२ मा परेको छ। यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन्।

छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं.२ मा परेको छ। यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी पर्ने १० निर्वाचन क्षेत्रमा काठमाडौंको निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३, काठमाडौं निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.२, धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५, काठमाडौं निर्वाचन क्षेत्र नं.७, सुनसरी निर्वाचन क्षेत्र नं.२ र भक्तपुरको निर्वाचन क्षेत्र नं.२ रहेका छन्।

सबैभन्दा कम उम्मेदवारले उम्मेदवारी दिएका १० निर्वाचन क्षेत्र

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् । निर्वाचन आयोगका अनुसार सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमा हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेत्र नं.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ रहेका छन्।

सबैभन्दा कम उम्मेदवारी परेको १० वटा निर्वाचन क्षेत्रमध्ये रोल्पाको निर्वाचन क्षेत्र नं.१ र जुम्लाको निर्वाचन क्षेत्र नंं. १ बाहेक अन्यमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन । आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम संख्याले उम्मेदवारी हुम्लाको निर्वाचन क्षेत्र नं.१ र मनाङको निर्वाचन क्षेत्र नं.१ मा दिएका छन्। यी दुवै क्षेत्रमा तीन–तीन जनाको मात्र उम्मेदवारी परेको छ ।

दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङ्को निर्वाचन क्षेत्र नं.१ मा परेको छ। यो क्षेत्रमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

तेस्रो कम संख्यामा उम्मेदवारी अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ मा परेको छ। यी सात वटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।