फाइल तस्वीर


काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीले बागी उम्मेदवारी दिएका काङ्ग्रेसका नेता कार्यकर्ताहरूलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । आजको ३८ औं दिन मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका काङ्ग्रेसका नेता कार्यकर्ताहरूलाई असोज ३१ गते सोमबारसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको हो ।

निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई २०७९ असोज २६ गतेभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा उनीहरुका प्रस्तावक र समर्थकहरुलाई नेपाली काङग्रेसको विधानमा व्यवस्था भए बमोजिम पार्टीको सदस्यतासमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गर्ने चेतावनी दिएको थियो ।

काङ्ग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै असोज ३१ गते सोमबारसम्म बागी उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएमा कारवाही फुकुवा हुने उल्लेख गर्नुभएको छ ।


पार्टी कार्यालयका मुख्य सचिव पौडेलद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याइ फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’ भनि उल्लेख गरिएको छ ।