फाइल तस्वीर


रौतहट – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता प्रभु साहले पार्टीले दिएको टिकट परित्याग गर्दै रौतहट क्षेत्र नम्बर – ३ बाट दिनुभएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेता साहले एमालेभित्रको एकलौटी र हैकमवादका विरुद्ध असन्तुष्टी जाहेर गर्दै पार्टीले दिएको प्रतिनिधिसभा सदस्य पद आगामी निर्वाचनको लागि दिएको टिकट नै परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।

उक्त क्षेत्रमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट रवीन्द्र पटेललाई उम्मेदवार बनाइएको थियो । एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी गराउनु भएको छ । नेता पुनले जानकारी गराए पटेलको उम्मेदवारी राजनीतिक समर्थनमा निष्क्रिय गराइने छ ।

प्रमु साह एमाले हुनुअघि नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्थ्यो । माओवादी केन्द्रबाटै २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अघिल्लो निर्वाचन पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सर्वोच्च अदालतको निर्णयबाट दुवै पार्टी पूर्ववत अवस्थामै फर्किएता पनि प्रभु साहलगायत रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका केही नेताहरुले माओवादी केन्द्र त्यागी एमालेमा विलय हुनुभएको थियो । एमालेमा रहेका पूर्वमाओवादी नेताहरुलाई उक्त पार्टीले किनारा लगाउँदै आएको साहले सार्वजनिक रुपमा बताउनु भएको छ ।

एमालेमा विलय भएका नेताहरुमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एमालेले टिकट दिएको थियो । प्रभु साहले भने यतिबेला एमाले नै परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । निर्वाचनपश्चात् सम्भवत उहाँ पूर्ववत पार्टी नेकपा माओवादी केन्द्रमै फर्किने आङ्कलन गरिएको छ । सोही शर्तमा प्रभु साहलाई गठबन्धनले समर्थन गरेको राजनीतिक विश्लेषण गरिएको छ ।