फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता डा.भीम रावलले आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आफुले पाइला चाल्ने बताउनु भएको छ । राजधानीमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. रावलले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

आफू नेकपा एमालेमा रहने कि नरहने भन्ने विषय पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने भन्दै नेतृत्वप्रति असन्तुष्टी व्यक्त गर्दै ‘पार्टीमा सधैं दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने बताउनु भयो । पत्रकारहरुले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि टिकट नपाइ एमाले पार्टी नै परित्याग गर्नुभएका नेता घनश्याम भुसालले गर्नु भएको घटनालाई कसरी लिनुभएको छ भनि सोधिएको प्रश्नमा नेता रावलले ‘घनश्यामजीको विद्रोहलाई उचित कदम ठानेको’ बताउनु भयो ।

नेता रावलले आगामी निर्वाचनको लागि टिकट नपाएको भएपनि आफुले तत्काल पार्टी नछाड्ने भन्दै ‘पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने’ दावी समेत गर्नुभयो । रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय सङ्गत भयो भनेर पार्टी नेतृत्व प्रति प्रश्न गर्नुभएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले ‘आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको’ जिकिर गर्नुभयो । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको नेता रावलको भनाइ थियो । नेता रावलले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनु भएको छ ।