फाइल तस्वीर


काठमाडौं – वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । वैदेशिक रोजगारका लागि विदेशजान चाहने युवा समुदायलाई ठगी गरेको भन्दै परेका उजुरीहरु फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई चेतावनी दिएको हो ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालद्वारा जारी गरिएको सूचना अनुसार वैदेशिक रोजगारका क्रममा ठगीमा परेका कामदारका उजुरीमा छलफल गर्न विभागले पटक–पटक पत्राचार गर्दासमेत त्यसलाई बेवास्ता गरी अटेर गरेका केही म्यानपावर कम्पनीका सञ्चालकहरु सम्पर्कमा नआएपछि विभागले कारवाहीको चेतावनी दिएको हो ।

‘विभागमा दर्ता भएका उजुरीका सम्बन्धमा यस विभागबाट गरिने पत्राचार, आदेश तथा निर्देशन केही इजाजतपत्र कम्पनीबाट पालन नहुँदा समयमै उजुरी फछ्र्यौट गर्ने कार्यमा सख्त बाधा पुग्न गएको छ । ऐन तथा नियमावलीका व्यवस्था तथा विभागले दिने निर्देशन कार्यान्वयन नगरे ऐनको दफा ५४ बमोजिम कारबाही गर्ने अधिकार ऐनले विभागलाई दिएको समेत विभागले व्यवसायीलाई स्मरण गराएको छ’ भनि विभागले जारी गरेको पत्रमा उल्लेख छ ।

वैदेनिैशक रोजगार सम्बन्धी कानुनको दफा ५४ मा ऐन र ऐन अनुसार बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीलाई पहिलोपटक सचेत गराउने, दोस्रो पटक ५० हजार रूपैयाँ जरिवाना गर्ने र तेस्रो पटक सोही कसुर दोहो¥याएमा एक लाख रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र नै रद्द गर्न सक्ने प्रावधान रहेको छ ।

आफ्नो कम्पनीका सम्बन्धमा परेका उजुरीमा फछ्र्यौट गर्न जानकारी पाएर पनि सम्पर्कमा नआउने केही म्यानपावर कम्पनीका सञ्चालकको प्रवृत्तिप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।