फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार मन्त्रीको राजीनामा माग्ने तयारी गर्नुभएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडबाट असन्तुष्ट जसपाले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको राजीनामा माग्ने तयारी गर्नुभएको हो ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि मन्त्रीहरुले राजीनामा दिँदा सहज हुने भन्दै राजीनामा नदिए उनीहरुलाई प्रधानमन्त्री देउवाले जिम्मेबारीबाट हटाउन लाग्नुभएको सरकारमा सहभागी काङ्ग्रेसका एक मन्त्रीले बताउनुभयो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले उहाँहरुको राजीनामा माग्ने कार्ययोजना रहेको ती मन्त्रीले बताउनुभयो । प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच जसपाका मन्त्री हटाउने विषयमा सहमति भइसकेको बताइएको छ ।

जसपाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव सरकारमा सहभागी हुनुहुन्छ । यद्यपि जसपाका मन्त्री श्रेष्ठले एमालेसँग गठबन्धन नगरेको बताउनुभएको छ । उहाँले एमालेसँग केही सिटमा मात्र चुनावी तालमेल गरेकाले जसपालाई सत्ता गठबन्धनबाट बाहिरिएको भन्न नमिल्ने जिकिर गर्नुभएको छ ।

वि.सं २०७४ को निर्वाचनको बेलामा पनि सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) विपक्षी दल एमालेसँग गठबन्धन गरेर चुनावमा गएपछि तत्कालीन प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुको जिम्मेवारी खोसेर विनाविभागीय बनाउनुभएको थियो । अहिले निर्वाचन आचारसंहिता लागु भइसकेकाले प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना नरहेको बताइएको छ ।